शनिवार, 15 मई 2021

चिनको डायरी

– सुजन वैरागी

अफिसको गेटबाट छिर्ने साथै श्यामदाइले हजुरको पार्सल छ भन्दै उसको हातमा थमाई दिएँ । पठाउनेको नाम थिएन । उसले आफ्नो टेबलको सबैभन्दा तल्लो ड्रयरमा हाल्यो । बेलुकी निस्कने बेला पार्सल ब्यागमा हाल्यो । घरमा पुगेर फ्रेस भएपछि श्रीमतीले ल्याइदिएको कफि पिउँदै पार्सल खोल्यो । भित्र अर्को खाम थियो जहाँ राम्रा अक्षर बनाएर अंग्रेजीमा लेखिएको थियो । चिन तानतान् ४–३५–६ जिनान, सान्दोङ, चिन । धेरै बेर खाम मै घोरियो । केही सम्झन सकेन । चिनमा आफ्नो कोही नभएकोमा कन्फर्म भयो । पाउनेको नाम ठेगाना पढ्यो । फेरी एक एक अक्षर हे¥यो । सबै ठिकै छ । उसैको हो । खाम खोल्यो । एउटा सुन्दर ब्लू कलरको डायरी निस्कियो । ब्लू, उसको मनपर्ने रङ्ग ।

पहिलो पेज

डियर रिहान न्यानो माया छ तिमीलाई । सायद चिनेनौ होला । मलाई लाग्छ तिमीले मलाई भुलि सक्यौ । खास सम्झि राख्ने खालको ममा त्यस्तो विशेष पनि त केही छैन । तर मैले तिमीलाई भुल्न सकिन । बनावटी जस्तो लाग्ला तर साँच्चिकै यो मुटु तिम्रै लागि धड्के जस्तो लाग्छ । मलाई थाहा छ म तिम्रो मनमा ठाउँ पाउन सक्दिन तर मेरो मनमा तिमीले विशेष ठाउँ ओगोटेका छौ । 

कफि सकियो । पहिलो पेज सकियो तर मनको कौतुहुलता सकिएन र सकिएन परिचय । अहँ उसले अझै चिनेन ।

डायरीको पछाडि पट्टीबाट फरर पल्टायो । बीचतिर दुईप्रति फोटो निस्कियो । जुन चारवर्ष अगाडि ६ महिने ट्रेनिङको लागि अफिसले जापान लादाँ त्यही खिचेको ग्रुप फोटो थियो । अर्कोमा रिहान र उसगै थिइ एउटा गोरो अनुहार, थेप्चो नाक, चिम्रा आँखा, कुमसम्म आएका सिल्की कपाल भएकी एउटी सुन्दर केटी । यानिकी चिन तानतान । उ झसङ्ग हुन्छ । ओहो कसरी बिर्सिए मैले चिनलाई !?

उ एउटा जापनिज आइएनजिओमा काम गर्छ । जसको शाखाहरू २८ देशहरूमा छन् । चार वर्ष अगाडि विभिन्न १४ देशका कर्मचारीहरूलाई छानेर जापान लगिएको थियो, ट्रेनिङको लागि । त्यसैबेला भेटिएकी थिइन चिन शाखाबाट आएकी चिन । त्यो बसाईमा सबैभन्दा बढी नजिक बनेकी थिइन चिन । उ ग्रुप फोटोमा एक एकलाई नियाल्छ । प्राय सबैसगँ फेसबुकमा साथी छ उ । कहिलेकाही हाई हेल्लो पनि हुन्छ । बस चिनसँग हुँदैन किनकी उनकोमा चल्दैन फेसबुक ।

फेरी डायरी पल्टायो

सुरुको दिनको परिचयमा तिमीले आफ्नो परिचय भन्दा बढी देशको गुनगान गाउँदा मलाई खुब रिस उठेको थियो । मेरो नजरमा एउटा सानो विकाशोन्मुख गरिब देश भन्दा अर्को परिचय हुन सक्दैन थियो तिम्रो देशको । हाम्रो रुम आमनेसामने पर्दा पनि बेखुस थिएँ म । तिमीसँग इन्टरयाक्ट नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । तिमी प्राय सबैको प्रिय भैसकेका थियौ । तर मलाई हामी भेट हुँदा, आँखा जुध्दा तिमीले दिएको मुस्कानदेखि रिस उठ्थ्यो । झन तिमीले त्यो अफिसले तिम्रो वर्थडे मनाइ दिने भन्दा “मलाई धुमधाम बर्थडे मनाउनु छैन, बरु कतिहुन्छ पैसा नै दिनु” भनेपछि म तिमी प्रति पूरै नेगेटिभ भएकी थिएँ । अहो कसरी माग्न सकेको पैसा ? त्यो दिन सबैले तिमीलाई वीस गरे, मैले पनि गरेँ । तिमीले अगाडि उभिएर आफ्नो संस्कार अनुसार अभिवादन ग¥यौ र बोल्न शुरु ग¥यौ । मलाई अझै पनि याद छ तिमीले बोलेका एक एक कुरा र कहिले भुल्ने पनि छैन । तिमीले भनेका थियौ । 

“यहाँहरूले मप्रति देखाएको उदारतालाई बेवास्ता गरेको नठान्नु होला । बर्थडे पार्टी क्यान्सिल गराएर पैसा मागेकोमा म हृदयदेखि नै माफि माग्न चाहन्छु । मैले अहिलेसम्म आफ्नो नामको केक काटेको छैन । म गरिब परिवारमा जन्मे र स्कुलिङदेखि नै केही न केही काम गरेर आफैले कमाएर पढेको मान्छे हुँ । आर्थिक स्तरोन्नती गरेपनि मैले जन्म दिनमा केक काट्ने तिर ध्यान दिइन । एक पुरिया विस्कुट मात्र किन नहोस मैले ती खान नपाएकाहरूलाई दिने गरेको छु । हरेक तीनतीन महिनामा ब्लड डोनेसन गर्छु । डोनेशन गर्न मिल्ने हरेक अर्गानहरू डोनेसन गरिसकेको छु । मलाई यो खुसी छ कि मेरो मृत्यु पछि पनि मेरा आँखाले यो सुन्दर संसार हेरिरहेको हुनेछ । मेरो मुटु धड्किरहेको हुनेछ । मेरो छाला कसैको सुन्दरता बनेको हुनेछ । 

(ओहो ! तिम्रो बोल्ने शैली । बोलेरै मन्त्रमुुग्ध बनाउन सक्ने कला रैछ तिमीसँग ।) 

कुनै कुनै संस्थाहरू सहयोग गर्ने नाममा आफू धनि हुने गरेका छन् । त्यसैले म सहयोग गर्ने बेला आफै अनुसन्धान गरेर मात्र दिने गर्छु । यसपाली मेरो एक महिनाको स्यालरी साथै अन्य कतैबाट स्वतस्फुर्त सहयोग आयो भने सबै जम्मा गरेर कुनै असहाय वा असाहायलाई सहयोग गर्ने जेनुयन संस्थालाई दिने विचार गरेको छु । मैले केही संस्थाहरू र व्यक्तिहरू सर्टलिस्ट गरिसकेको छु । यदि तपाईहरूसँग यीभन्दा बढी आवश्यकता भएको कोही छ भने रिकमेन्ड गर्नुहोला । जसलाई बढी आवश्यक छ त्यसलाई दिने हो । ‘कन्ट्री डजन्ट म्याटर । वी क्यान चुज फ्रम अल ओभर द वर्ड’ ।”

तिमीलाई थाहा छ ? शुरुमा तिमीले गरेको नमस्कारसम्म नफर्काएकी म तिम्रो स्पीचको अन्तमा सबैभन्दा बढी तालि बजाउने भएकी थिएँ । मान्छेलाई परिवर्तन गराउन धेरै समय नलाग्ने रहेछ भन्ने कुरा त्यही तिम्रो १० मिनेटको स्पीचले सिकायो मलाई । म तिमी प्रति एकदमै आकर्शित भएकी थिँए । तिमीप्रति मनैदेखि सम्मान पलाएको थियो । आफैप्रति रिस उठेको थियो कि किन मैले तिमी जस्तो मान्छेलाई निगेटिभ सोँचे । आइएम रेली सरि रिहान । मैले तिमीलाई त्यतिबेला गरेका व्यवहारप्रति म एकदमै लज्जित छु । हुन त तिमीले मलाई र मेरो व्यवहारलाई नराम्रो मानेनौ तर मैले अझै आफूलाई लज्जित महशुस गर्दैछु । आफूले गरेको गल्तिको आफैले माफ गर्न नसकेसम्म त्यो माफि माफि नहुने रैछ रिहान ।

मनमनै भन्छ, पागल केटी कति पटक माफि माग्छे । थोरै मुस्कुराउँछ । डाएरी बन्द गर्छ । कुर्चीको पछाडि अडेस लगाउँछ । टाउको आकास तिर फर्काउछ र आँखा बन्द गर्छ । पर्दामा फिल्म चलेजस्तै आँखै अगाडि आउँछन् चिनले शुरुसुरुका दिनमा गरेको इग्नोर साथै पछि पछिको दिनमा देखाएको आत्मियता सबै सबै । र सम्झन्छ त्यसदिन सबै साथीहरूले स्वतस्फूर्त गरेका आर्थिक सहयोग अनि त्यो रकमले बचाएको एउटा गरिबको ज्यान र स्कुल जान नसकेका ६ जना बालबालिकाको हाइस्कुलसम्मको शैक्षिक सहयोग । आँखै अगाडि आउँछन् ती बालबालिकाको अनुहार अघिल्लो महिना भेट्न जाँदा कति खुसी भएका थिएँ सबैजना । प्रिन्सिपलले पनि सबैको पढाइ राम्रै रहेको जानकारी गराएका थिए । अर्को हप्ता टाइम मिलाएर छिर्नुपर्ला । 

बेलुकीको खाना खाइसकेपछि ६ वर्षे छोरीलाई लिएर इभिनिङ वाकको लागि निस्कन्छ । फर्केपछि डायरी बोकेर बेडरुममा छिर्छ र पल्टाउँछ । 

रिहान, तिमीलाई मैले धेरै भुल्न खोजे तर सकिन । तिम्रो याद कम गर्नको लागि मैले आफूलाई काममा धेरै नै विजी राख्न थाले । ओभरटाइम काम गर्न थाले तर अहँ मैले तिमीलाई कति पनि भुल्न सकिन । तिमीलाई थाहा छ ? म कन्सल्टेन्टकोमा जानुप¥यो । उसले मलाई विवाह गर्ने वा रिलेशनमा बस्ने सल्लाह दियो । यसो ग¥यो भने तिम्रो याद हटेर जान्छ भन्ने उसको तर्क थियो । मैले हाङ्गलाई सम्झिए । तिमीलाई याद छैन होला मैले तिमीलाई उसको बारेमा भनेकी थिएँ । उसले मलाई मन पराउँछ र बिहे पनि गर्न चाहन्छ तर उसले आफ्नो घर किन्न सकिरहेको थिएन । तिमीलाई थाहै छ हाम्रो कल्चर घर बिना विवाह असम्भव हुन्छ । हामी रिलेशनमा बस्यौं । तर मैले तिमीलाई भुल्न सकिन, उसले मलाई तिम्रो यादसँग झेल्न सकेन । एक महिना पनि सँगै बस्न सकेनौ हामी र छुटियौं सदा सदाका लागि ।

एकदिन ड्रिङ्स गर्न नयाँ रेस्टुुरेन्टमा गएकी थिएँ । त्यहाँ विकाससँग भेट भयो । उसले नेपाली भन्ने साथै आत्मिय लाग्यो । मेरो मनमा तिम्रो छाप बसिसकेको थियो । नेपाली भनेको तिमी । मलाई तिमी भेटे जस्तै लाग्यो । हामीलेसँगै ड्रिङ्स ग¥यौ । साथी बन्यौं । ह्वाट्सएपमा हाम्रो दैनिक जस्तो कुरा हुन थाल्यो । हरेक हप्ता ड्रिङ्स पार्टी हुन थाल्यो । म तिमीलाई कम सम्झिन थालेकी थिएँ । एकदिन मेरो घरमै ड्रिङ्स पार्टी गर्ने योजना बनायौं । पार्टी मध्यरातसम्म चल्यो हामी दुबै मात्यौं अनि मातियौं । बिहान उठ्दा शरीर अर्कै भएको थियो । बियरका क्यानहरू, चुरोटका ठूटाहरू, शरीरका कपडाहरू सबै कोठाभरी यताउता छरपष्ट भएका थिए । कोठा डस्बिन भन्दा कम थिएन । मैले मेरो कोठा यतिधेरै फोहोर कहिले गरेकी थिइन । उ मैले हेर्ने अवस्थामा थिएन, म उसले हेर्ने अवस्थामा थिइन । बाथरुम छिरेर वाथटबमा मनतातो पानी भरेर पसेँ । चुुरोट सल्काउन मन लाग्यो । तिमीलाई सम्झिएँ । तिमीले कमसेकम बन्द कोठामा त चुरोट नखाउ भनेदेखि मैले बाथरुममा चुरोट खान छाडेकी थिएँ । म निस्कदाँ उ चुरोट तानिरहेको थियो । हामी धेरै नजिकिएका थियौं । उसले मलाई तिमीले भन्दा बढी केअर गथ्र्यो । कुनै कुरामा रोकटोक गर्दैनथ्यो । तिमीले जस्तो चुरोट खान रोकेन, रक्सि पिउन रोकेन । उ उस्तै थियो जस्तो मलाई चाहिएको थियो । जस्तो मैले चाहेकी थिएँ । तर पनि मैले बुुझ्न सकिरहेकी थिइन कि मैले तिमीलाई किन मिस गरिरहेकी छु ? मैले खोजेको जस्तै मान्छे मसँगै हुँदा पनि किन तिमी याद आइरहेछौं ? 

सबै कुरा राम्रै चलिरहेको थियो । हाम्रो विवाह गर्ने कुरा थियो । उसले म नेपाल गएर सबै कुरा मिलाएर आउँछु अनि यहाँ विवाह गरेर जाने अनि उता पनि विवाह गर्ने भन्यो । म एकदमै एक्साइटेड थिएँ र उस्तै खुशी पनि । एक हप्तामै फर्कन्छु भन्थ्यो । दुई दिन पछि मैले उसलाई मेरो कन्सलटेन्टसँग हिड्दै गरेको देखें । म सडकको अर्को साइडबाट बोलाउँदै थिएँ उसले सुनेन । फोन प्रयोगमा थिएन । उसको ठेगाना मलाई थाहा थिएन । उसले पढ्छु भनेको कलेजमा उसको कुनै नाम निसाना थिएन । उसले भनेका ठाउँहरू र उ भेटिने ठाउँहरू सबै तिर म गएँ उ भेटिएन । मैले सोच्न सकिरहेको थिइन मसँग के भइरहेको छ भन्ने । म कन्सलटेन्टकोमा गएँ । त्यहाँ अरु धेरै कुरा थाहा भयो । उसले विकास भन्ने कोही नचिनेको बतायो । तर एकजना नेपाली उसकहाँ काम गर्ने र उसको नाम हरि रहेको बतायो । मैले उसलाई फोटो देखाएँ । उसले चिन्यो उही हरि थियो । मतलब म जसलाई विकास भनेर चिन्छु उ विकास नभएर हरि थियो । जसलाई म मेडिकल स्टुडेन्ट ठान्छुु उ क्लिनिकमा सरसफाइको काम गर्छ । र जसलाई म पति बनाउने सपना देख्दैछु उ पहिला नै अरु कसैको पति भइसकेको छ । सपनाहरू सबै भताभङ्ग हुँदै थिए । मेरो विश्वासको पर्खाल भत्किएको थियो । आँखा अगाडि अँधेरो छायो । म विश्वस्त थिएँ जसरी उसले मलाई उसको श्रीमतीको बारेमा भनेन पक्कै उसले आफ्नो श्रीमतीलाई पनि मेरो बारेमा भनेको छैन । मतलब उसले मलाई प्रयोग ग¥यो । उसले मेरो कन्सलटेन्टकोबाट थाहा पायो मेरो आवश्यकता त्यसैले उ उस्तै बन्यो जस्तो मलाई चाहिएको थियो । उसले मेरो अगाडि नाटक ग¥यो, मैले साँचो मानँे । उसले सोच्यो होला अरु धेरै चिनिया केटीहरू जस्तै मैले पनि विवाह गर्न चाहन्न तर मैले विवाहको कुरा गरेपछि उसले मबाट एकाएक सम्पर्क विहिन बन्यो । मैले चाहेकी भए म खोजेर सोध्ने थिएँ उसलाई तर जसले सबै कुरा झुट बोलेर मलाई अँधेरोमा राख्यो भने यस्तासँग के कुरा गर्नु भन्ने लाग्यो । 

नेपाली भन्दैमा सबै तिमीजस्तै हुन्छन् भनेर सोच्नु मेरो ठूलो गल्ती थियो । हरेक गल्तीहरूले पाठ सिकाएर जाने रैछ । विकास होकी हरिले यही पाठ सिकाएर गयो । 

डायरी बन्द गरेर साइड टेबलमा राख्छ । आमा छोरी मस्त निदाइसकेका हुन्छन् । उ पनि सुत्छ, निदाउन सक्दैन । छटपटी हुन्छ । फेरी उठेर डायरीका सबै पनाहरू पल्टाउँछ । कतै नम्बर लेखेकी छे की भनेर तर कतै हुँदैन । नम्बर लेखेकी भएनी ह्वाट्स एपमा कुरा गर्नुहुन्थ्यो । विकास भनौदालाई सम्झ्यो र मनमनै गाली ग¥यो । विदेशमा गएर देशको बदनाम गर्छ कस्तो मान्छेहरू हुन्छन् भनेर सोच्दा सोच्दै कतिखेर निदायो विहान घाम आछ्यानमै आइपुगेपछि ब्यँुझिन्छ । आज आइतबार उसको अफिस विदा थियो । छोरीलाई स्कुल प¥याउने बेला हुन लागेछ । श्रीमती कोठामा छिरिन् । 

के भो हजुरलाई आँखा त सुन्निए जस्तो छ त ?

केही भा छैन राती निन्द्रा लागेन अलि ढिला सुतेँ ।

किन निन्द्रा लागेन त ? केही टेन्सन भो र ? उनले उसको टाउको सुमसुम्याउँदै भनिन ।

उ केही बोलेन ।

ल हजुर सुत्नुस त्यसो भए । छोरीलाई म पु¥याएर आउँछु ।

उसकी श्रीमती निस्किइन् । उ फेरी पल्टियो तर निन्द्रा आएन । र तान्यो फेरी छेउमा राखेको डाएरी ।

आफैलाई धेरै सम्हाल्न खोजेँ तर सकिन । एक हप्ते लिभमा बसँे । पूरै दिन रात ड्रिङ्स र स्मोकमा बिताएँ । मैले तिमीलाई पनि सम्झिन, उसलाई पनि खास सम्झिन बस डुबिरहेँ आफ्नै नशामा । हप्ता दिन पछि अफिस पुगेँ । मेरो टेबलमा हेड अफिसको जर्नल आएको रहेछ । अध्ययन र रिभ्यूको लागि मेरो टेबलमा राखिएको रहेछ । बीचतिर पल्टाएको सीधै तिम्रो फोटो देखेँ । युवा वर्गमा बढ्दै गएको विकृती र
विसंगती । तिमीले लेखेका कुलतका कुराहरू सायद मलाई नै टार्गेट गरेर लेखेका हौ की भने जस्तो लाग्यो । तिमी विश्वास गर्दैनौ होला त्यस दिनदेखि मैले स्मोक गर्न पूरै छाडिदिएँ । ड्रिङ्स भने कहिले काहीँ गर्छु तर एकदमै कम, छाडे बराबर । बस अब तिम्रो यादले छाडोस यही कामना छ ।

उ डायरी बन्द गर्छ र साइड टेबलमा राख्छ अनि मुस्कुराउँछ एकदमै नपत्यारिलो हाँसो ।

अगष्ट २०२०