बुधवार, 30 दिसंबर 2020

रित्तो हात

सोमलाल दाइ अर्थात लाश पोल्ने मान्छे । उनी मेरो यादमा आइरहने मान्छे जसलाई मैले पहिलो पटक पशुपति मन्दिर परिसरको पुलमा भेटेको थिएँ । साँझको समय थियो । म पुलको छेउमा उभिएर बगेको पानी हेरिरहेको थिएँ । एकजना मान्छे म भन्दा अलि पर मन्दिर तिर फर्किएर भन्दै थियो ः हे पशुपति नाथ आजको छाकको व्यवस्था गरिदेउ । 

मैले उनी तिर फर्किएर भने दाइ छाकको लागि काम गर्नुपर्छ । छाक भगवानले दिन थाले भने सबै जना काम गर्न छाडेर भगवान पुकारेरै बस्न थलिहाल्छन् नी ।

उसले मधुरो आवाज निकाल्यो ः के गर्ने भाइ यो पापी पेटले गर्छ जे गर्छ । आफ्नो पेशा यस्तै छ । सिधै भन्न सक्दिन दिन भरि काम गरिरहन पाम भनेर । म लाश पोल्छु भाइ । मैले तेसो भने भनेँ त्यो मान्छे मरुन भन्ने कामना गरेको जस्तो हुन्छ । अनि मेरो बाध्यता पनि त्यस्तै हेरन मान्छे मरेनन् भने यहाँ ल्याइन्नन्, यहाँ ल्याइएनन् भने पोल्न पाइन्न । पोल्न पाइएन भने बेलुका चुल्होमा आगो बल्दैन । अनि के गर्ने भन त ?

म अवाक भएँ मसँग कुनै उत्तर थिएन । त्यसदिन लामै कुरा भयो । झमक्कै साँझ परेसम्म हामीले कुरा ग¥यौ । त्यस दिनदेखि म पशुपति गएको दिन प्राय सोमलाल दाइ नभेटी नफर्कने भएँ । पशुपतिमा उनी प्रायः चितामा बाँसले मुढा ठेल्दै हुन्थे, लाश घोच्दै हुन्थे त कहिले यतै बराल्लिदै हुन्थे । भन्थे अरूलाई पोलेर आफू बाँच्नु परेको छ । 

सोमलाल दाइलाई थाहा थियो एक दिन उनी पनि यसै गरी पोलिने छन् र पनि खै किन हो साह्रै लोभ गर्थे । थोरै खान्थे धेरै बचत गर्ने कोशिस गर्थे । कहिले एक छाक मात्र खान्थे । कहिले भोकै पेटमा तातो पानीले चित्त बुझाउँथे । 

एकदिन मैले एक पोका चामल र केही खुल्ला पैसा बोकेर गएँको थिएँ । एक्लै बाँड्न गाह्रो हुने भएकोले सोमलाल दाइलाई फुर्सदमा देखेर सहयोग गर्न बोलाएको थिएँ । चामल पैसा बाँड्दै जाँदा एउटा गम्सामा उनले धेरै चामल हाले । मैले मान्छे नै छैन् झन किन धेरै दाइ ? भनेर सोधेको थिएँ । उनी फिस्स हाँसे । त्यति बेला थाहा भयो त्यो माग्नेहरूको लाइनमा फिजाएर राखेको गम्सा सोमलाल दाइको रहेछ । म चकित भएँ । त्यहाँबाट निस्केपछि भने दाइ कति लोभ गर्छौ ! 

कहानी छ भाइ । लामो सुस्केरा हाल्दै भने ।

हामी कैलाश डाँडा तिर लाग्यौ । आज म तपाईको सबै कहानी सुन्छु । 

अहिले सकिन्न भाइ । दिन सकिन्छ कहानी सकिन्न । तिमी त अफिस नि जानु पर्छ ।

आज म पूरै फुर्सदमा छु दाइ आज त कहानी सुनेरै जाने हो । आज मेरो जन्म दिन हो । मैले सबैतिर विदा लिएको छु । आजको दिन तपाइसँगै ।

ल जन्म दिनको शुभकामना छ भाइ । त्यही त आज चामल पैसा बोकेर आयौ ?

हो दाइ, आजको दिन सकेसम्म केही राम्रो काम गर्ने कोशिस गर्छु । केही असाहायलाई सहयोग गर्छु ।

हामी माथी पुगेर चउरमा बस्यौं । सुन्तला आयो । बदाम आयो । पानी आयो । जे जे आयो सबै खाइयो । सोमलाल दाइ बेला बेला आबेगमा आउँथे । कहिले रुम्ला झै गर्थे । कहिले सबैको ध्यान खिच्ने गरी हाँस्थे । एक बज्न लागेको थियो सोमलाल दाइको कहानी सकियो । मैले बुझे सोमलाल दाइलाई । उनी देखाउन चाहन्छन् उनलाई छोडेर जानेलाई । उनको श्रीमतीले पैसा कमाएन भनेर उनलाई छोडेर घरबेटीसँग पोइला गइछन् । उनी चाहन्छन् । काठमाडौंमा त्यो भन्दा अग्लो, त्यो भन्दा ठूलो घर बनाउँ । बैंक ब्यालेन्स गरौं । ब्यालेन्स पनि गरेका छन् । अब छिटै घर बन्ने पैसा पुग्नेछ रे उनको । 

घर बनाएपछि आनन्दले बस्ने छु, सपना थियो उनको । 

घर फर्कदै गर्दा सोँचे प्रेमले मान्छेलाई पागल गराउँछ सुनेको थे । लोभी नी बनाउँदो रहेछ । अरूलाई देखाउन कै लागि यसरी नखाइ नखाइ पनि के कमाउनु । आखिर जाने बेला खाको र लाको मात्रै हो । लान केही सक्ने हैन किन यसरी लोभ गर्नु परेको होला । उनलाई यस्तो कुरा ग¥यो भने उनी बुझ्दैनन् । उनलाई त जसरी पनि घर बनाएर देखाउनु परेको छ ।

पशुपती जाँदा म उनलाई जहिले चिया र दुनोट खुवाउँथे । अनी जिस्काउँथे दाइ कहिले हो तपाइको घरमा चिया खाने ?

उनी फिस्स हाँसेर भन्थे आउँछ भाइ दिन छिटै आउँछ । 

त्यस पछि म अफिसको कामले भ्याली बाहिर तिर गए । लगभग २ महिना जति उनीसँग कुनै सम्पर्क भएन । उनीसँग मोबाइल थिएन । मसँग सम्पर्क गर्ने खास काम पनि थिएन । म फर्किए पछि फेरी उसैगरी मर्निङ वाक गएको थिएँ । उनलाई सम्झे पनि तर त्यसदिन उनी पशुपती तिर देखिएनन् । त्यसको एक हप्ता पछि उनी गौशला चोकमा भेटिए । सफाचट भएर हिडेका रहेछन् । खुशी भए झै कराए आहो भाइ कता हराउनु भएको थियो ?

फेरिनु पो भएछ त भाइ । गाला पनि मोटाएका छन् ।

म त के फेरिए होला र दाइ । तपाई चै फेरिनु भएछ । पहिरन पनि फेर्नु भएछ । ठाउँ पनि फेर्नु भो कि के हो ? पशुपतीमा त भेटिनु हुन्न त ? कि चिया खान बोलाउने बेला भो ?

उनी उसै गरी फिस्स हाँसे । पशुपतीको काम छाडे भाइ मैले । अब छिटै तपाईलाई चियाको लागि बोलाउने छु । तपाईको नम्बर दिनुस न । मैले तपाईलाई कति खोजेँ । तपाईको बाटो कति हेँरे । तपाई आउँदै आउनु भएन ।

मैले आफ्नो कार्ड दिदै भने । म अफिसको कामले बाहिर गएको थिए । १ हप्ता भयो फर्केको तपाईलाई भेट्न भनेर पशुपती तिर गएको थिएँ । भेटिनु भएन । अनि के छ त दाइ नयाँ ?

एउटा घर हेरेको छु भाइ बनाउन झन्झट रहेछ । बनेकै राम्रो हेरेर किनम भन्या । त्यो घरको मान्छे अब अमेरिका तिरै बस्ने रैछन् । यहाँको बेचेर जान ला को रैछन् त्यसैले त्यही किनम कि भनेर सोचेको छु । घर मन परेको छ अब कुरा मिल्यो भने त्यही किन्छु । त्यसपछि मेरो घरको पहिलो पाहुना भाइ नै हुने छौं । मैले पकाको चिया खुवाउने छु ।

चिया मात्रै ? मैले जिस्किन खोजे ।

ल तिमी जे भन्छौं । खानै पकाएर खुवाउँला । 

समय आफ्नै गतिमा चलिरह्यो । म आफ्नै सेड्युलमा चलिरहँे । उनी पनि आफ्नै सेड्युलमा चले होला भेट भएन । त्यसको १ महिना जति पछि । बेलुका खाना खाने बेला एउटा ल्यान्ड लाइनबाट कल आयो । फोनको उता पट्टी सोमलाल दाइ रहेछन् । 

भाइ चिया खान कहिले आउँछौ ? फोन उठाउने बित्तिकै उनले भने ।

बधाई छ है दाइ । दाइले जहिले बोलाउनु हुन्छ । 

आउ भोली बिहान । 

लोकेसन दिए । भोली पल्टनै म बिहानको मर्निङ वाकबाट सिधै उनले दिएको लोकेसनमा गए । हेर्दै रहर लाग्दो घर । प्रशस्त बगैचा । बगैचामा फूलहरू । हरिया दुबो । एउटा एभोकाडोको रुख । एउटा सानो अम्बाको बोट । गेटबाट छिरे पछि यि सबै नियालेर एकछिन बँसे । भित्रको गेटमा गएर बेल बजाँए । सोमलाल दाइ आए । भित्र लगे सम्मानका साथ राखे । चिया बनाएर लिएर आए । चिया र विस्कुट खायौं । केही बेर सामान्य कुरा भए । कुरैकुरामा जिस्काएँ घर देखाउनु भो त भाउजुलाई । यस्तो घर देखेपछि भाउजु त लोभिनु नै होला । मै लोभिए । भाउजु त के ।

के देखाउनु नी भाइ देखाउनै नपाई मरिछ नी । त्यसले सम्पत्तिको लागि मलाई छाडेर गइ त्यसलाई त्यो भन्दा धनी भएर देखाउछु भन्दा भन्दै त्यसलाई देखाउनै नपाई मरिछ नी । 

सोमलाल दाइ निराश भए ।

मैले बुझ्न सकिन उनी उनको भुपू श्रीमती मरेकोमा दुःखी थिए वा उनीलाई आफ्नो आलिसान महल देखाउन नपाएर दुःखी थिए । लाग्थ्यो उनलाई उनी मरेकोमा कुनै चिन्ता थिएन । चिन्ता थियो त उनको यो आलिशान महल उनीलाई देखाउन नपाएकोमा थियो । उनले दिनरात दुःख गरेर कमाएको । नखाई नखाई जोगाएको सम्पति जसलाई देखाउन कै लागि यो सब गरे उनले उनैलाई देखाउन पाएनन् ।

उनीसँग अब काठमाडौंमा सुन्दर घर, बैंक ब्यालेन्स थियो । उनी धनी भएका थिए । पैसा, घर नहुँदा, दुःख गरेर कमाउदाँ, जोगाउँदा उनले यति सोचेका थिए पैसाले सबै कुरा पूरा गर्नेछ । अहिले उनीसँग प्रशस्त पैसा भयो तर उनी एक्लो एक्लो भए । उनलाई लाग्न थाल्यो । पैसाले सुख किन्न मिल्दैन । पीडा हुन थाल्यो उनलाई । खाई नखाई जोगाएको पैसा अब टन्न पिउन थाले । पेटमा अन्न भन्दा बढी रक्सी पर्न थाल्यो । कहिले काही रक्सी नै मात्र पिउन थालेछन् । 

म सुत्नै लागेको थिएँ मेरो फोन बज्यो ।

भाइ पैसाले सुख किन्न सकिन ।

फोनमा सोमलाल दाइ थिए । केही भनेनन् यति भनेर फोन काटे । मेरो कुरा पनि सुनेनन् । मैले पनि झट्ट जवाफ फर्काउन सकिन । उनको पीडा आवाजमा प्रष्ट आएको थियो ।

आज अफिस विदा भएकोले बिहान अलि अल्छि गरेर मर्निङवाक निस्के उही रुट तिलगंगा, पशुपती, गौशला, पूरानो बानेश्वर हुँदै घर । पशुपती पुग्दा ८ बजिसकेको थियो । शरीर अझै अल्छी गर्दै थियो । घाटमा दुई ओटा लाश बलिरहेका थिए । एउटा घाटे लाशलाई घोचिरहेको थियो । छेउमा लेखक भाइलाई देखेँ । लेखक भाइको नाम भुले मैले उनलाई सधै लेखक भाइ भनेर सम्बोधन गर्थे । उनी पत्र पत्रिका तिर लेखहरू लेख्थे । कथा, गजल, कविता पनि लेख्थे । उनी सोमलाल दाइको घरमा तलको फ्लाटमा बस्थे । साह्रै सहयोगी थिए लेखक भाइ । आफन्त नै हुन की कोही बेबारिसे लाश भेटे ।

लेखक भाइ कसलाई ल्याएनु भयो ? मैले छेउमा गएर सोधेँ ।

ए दाइ धेरै दिनमा पो देखिनु भो त ? हेर्नु न सोम दाइ त जानु भो नी ।

हँ ! म झस्किएँ । कसरी ? के भएर ? अस्तिन भेट्दा त ठिकै थिए ।

रक्सीले खायो दाइ । अन्न केही खाने हैन रक्सी मात्र खाएर गए दाइ त ।

बिचरा सोमलाल दाइ पहिला यसै गरी अरूको लाश घोचिरहेका हुन्थे आज उनैलाई त्यसैगरी अर्को घाटेले घोचिरहेको छ । एकदिन उसलाई पनि अरू कसैले यसैगरी घोचेर जलाउने छ । श्रीमतीले सम्पतिको लागि छाडेर गई भनेर खाइ नखाइ सम्पति जोडे । अहिले ती सम्पति यतिकै बेबारिसे छाडेर जानु प¥यो । अनेकन गरेर कमाएको सम्पति यतिकै छाडेर जाँदैछन् । मान्छेले लाने भनेको लाएको र खाएको मात्र हो । आउने र जाने बेला सबै नाङ्गो र खाली नै हो । तपाइको आत्मालाई शान्ति मिलोस । अल विदा सोमलाल दाइ ।

सुजन बैरागी

रामेछाप


शुक्रवार, 20 मार्च 2020

मुक्तक


चोरहरु पुलिस बनेर आए कुन ठूलो कुरा भो
झूट भनी उल्टै आरोप लाए कुन ठूलो कुरा भो
यस्तै हुन्छ शिक्षा अनि ज्ञानको अभाव भएपछि
देशै बेचि खानेले केक खाए कुन ठूलो कुरा भो
२८ फरवरी २०२०