गुरुवार, 30 जुलाई 2015

म हिडेको बाटो

मुक्तक
– सुजन बैरागी
म हिडेको बाटो तिमी हिन्न नपरोस
आफ्नै देशको माटो नि किन्न नपरोस
आफ्नै पौरखले लाउन खान पुगोस सधैं
आफू अघाउँन अरूको भाग छिन्न नपरोस

म रोएको कुरा नसुनाउ कसैलाई
बैरागीएको कुरा नसुनाउ कसैलाई
भिख मागेर, आश गरेर देउता ठानी
ढुङ्गा छोएको कुरा नसुनाउ कसैलाई
– रामेछाप

मंगलवार, 23 जून 2015

कथा

शैयामा छाडेको जीवन २
- सुजन बैरागी


मीनालाई हस्पिटलदेखि विमानस्थलसम्मको यात्रा निकै भारी भयो निकै टाढा लाग्यो, शरीर पूरै शिथिल भए झै लाग्यो । उनलाई छाड्न गएको हस्पिटलको भ्यान भित्र कुनै हावा नै नभएको जस्तो लाग्यो निसास्सिए झै भयो सास फेर्न कठिन भयो उनलाई । ब्याग बोकिन कि बोकिनन्, पासपोर्ट नै छाडिन कि ? उनलाई कुनै कुराको पत्तो थिएन उनलाई विमानस्थलसम्म छाड्न गएका हस्पिटलका अरु दुई जना सिस्टरहरुले उनलाई के के भने उनले सुनेकै थिइनन् । उनी एकतमास, एकोहोरो भै सकेकी थिइन लाग्यो उनीमा अब कुनै चेतना रहेन केवल शरीर बाँकी छ ।

विमानस्थलको प्रतिक्षालयमा मीना एकतमास भएर बसिरहेकी थिइन् । उनको साथमा रहेकी सिस्टरले मीनालाई घचघचाउँदै भनिन मीना सिस्टर उता हेर्नुस त मिस्टर डानियल यूर फ्रेण्ड ।
डानियल मीनाको व्वाईफ्रेण्ड थियो । उनको नाम असलमा लिजीया थियो, मीना नाम नेपाल आएपछि डानियलले नै राखिदिएको थियो । जोसँग मीनाको विहे हुनेवाला थियो तर मीनाले उसलाई समय नदिएको र अयूषप्रति मीनाको लगावले उ धेरै अपसेट थियो । जसले गर्दा उनीहरु बीचको सम्बन्ध टुटिसकेको थियो । डानियल भित्र छिरिसकेको थियो । विमानस्थलको माइकमा एउटा आवाज आयो । मीनालाई अझै केही थाहा थिएन काहाँबाट के आवाज आयो कसले कसलाई बोलायो ! के के भयो ? उनी स्वयं के गर्दैछिन उनीलाई केही थाहा थिएन । उनको मनमा आयूषको सम्झना आइरहेथ्यो अनि डक्टरले हामी उपचार त गर्छौ तर औषधी तिमी हौ भनेको कुराले झन उनको मश्तिष्कमा फर्की फर्की आउन थाल्यो । यसको शालिन, निर्दाेष, लाचार अनुहार मीनाको आँखा भरी झल्किरहेथ्यो । प्रतिक्षालयको एलसिडिमा हिन्दी फिल्म आइरहेथ्यो । मीनाले मोबाइल हातमा लिइन श्रेयालाई अन्तिम पटक विदा माग्ने हेतुले फोन गर्ने मनसाय बनाइन तर उनलाई फोनको स्क्रीन लक खोल्न फलामको ठूलो डल्लो सार्न भन्दा पनि कठिन लाग्यो । धेरै समयपछि श्रेयाको सेलफोनमा घण्टी गयो श्रेयाले तेस्रो घण्टी गएपछि फोन उठाइन आयूष बेहोसीमै थियो ।
हेलो
मीनाले के बोल्ने भन्ने शब्द पाइनन् । उनको गला अबरुद्ध भएर आयो । आँखा बर्सियो ।
श्रेयाले यो कुरा बुझिन, मीना मलाई थाहा छ तिमी अहिले कुन अवस्थामा छौ, तर हेर मसँग पनि तिमीलाई भन्ने कुनै कुरा छैनन् । म तिमीलाई त सान्त्वना पनि दिन सक्दिन । तिमीलाई थाहै छ । आयूषलाई औषधीले मात्र ठिक पार्दैन तिमी जानु भनेको आयूष मर्नु हो । डक्टर साबले भनेको कुरा त तिमीलाई थाहै छ । बोल्दा बेल्दै श्रेया पनि रुन लागिन ।
मीना रुदै बरबराउन थालिन, श्रेया म के गरौं मलाई तिम्रो देशको कानूनले बस्न पनि त दिँदैन । मलाई पनि यस्तो अवस्थामा आयूष छाडेर जाने मन छैन यो त तिमीलाई राम्ररी थाहा छ बरु तिमी नै भन म के गरौं केही उपाए देउ म जानु भनेको पनि केबल मेरो शरीर जानु न हो मेरो मन त आयूषसँगै हुनेछ ।
१२ बजिसकेको थियो मीनाको आँखा बर्सिरहेको थियो वर्षाको मूल फुटेसरी सुक्ने कुनै लक्षण पनि थिएन । एक्लै बसेर रोइरहेकी मीनाको छेउमा आएर एक युवतीले उनको टाउको सुमसुम्याउँदै सम्झाउन लागिन, नरुन अनुरोध गर्न लागिन ।
उनको मनमा आगो बले झै रापिइरहेको थियो र पनि उनलाई यति भनिदिने मान्छे भेटाएकोमा मरुभुमीमा पानी भेटे झैं लाग्यो ।
मीना केही सान्त भईन ।
ती युवतीले उनलाई यति धेरै रुनुको कारण सोधिन ।
मीनाले रुँदै सबैकुरा विस्तारमा सुनाइन ।
सबै कुरा सुनिसकेपछि उनी जुरुक्क उठिन उनको आँखा रसाएका थिए । उनले हात अगाडि बढाउँदै भनिन साहारा ।
मीना अलमलमा परिन के साहारा ? सोध्न मन थियो मीनालाई । सोध्न नपाउँदै उनी बोलिन म साहारा । म तपाईलाई एउटा सल्लाह दिन्छु जुन तपाई आयूषसँग बस्न सक्नुहुन्छ तर तपाईले एउटा ठूलो निर्णय गर्नुपर्छ ।
मीना खुशीले उफ्रिइन । उनको लागि आयूषको स्वास्थ्य र साथ भन्दा अरु कुनै पनि कुरा ठूला थिएनन यतिबेला उनले भनिन म कुनै पनि निर्णय लिन सक्छु । मलाई कुनै आपत्ति छैन । बरु छिटो भन्नु न त्यसको लागि म के गरौं ?
तपाईं कोही नेपालीसँग विवाह गर्नुस ।
मीनाको अनुहार भरीको सबै उमङ्गहरु पलभरमै हराए उनको अनुहार फुङ्ग भयो । उनी फेरी त्यही ठाउँमा आफ्नो शरीरलाई फ्यात्त छाडिदिइन ।
मैले भनेकै थिए नी ठूलो निर्णय गर्नु पर्छ ।
साहारा जी मेरो लागि आयूष सबै भन्दा ठूलो कुरा हो तर विवाह भनेको जो पायो त्यहीसँग गर्ने कुरा पनि त हैन म त झन नेपालको कोहीलाई चिन्दिन भन्दा पनि हुन्छ जोसँग मेरो विवाह हुन सकोस ।
अन्यथा नलिनु होला मीना जी आयूषसँग किन विवाह गर्नु हुन्न ?
मीना झस्किइ ! हो त म आयूषसँग किन विवाह नगरु ?
मीना एक छिन टोलाई अनि जुरुक्क उठी र साहाराको हात समाई अनि सरासर बाहिर निस्कि । ट्याक्सी पनि भित्रै भेटियो उनीहरु ट्याक्सीमा पसे । ट्याक्सी सरासर हस्पिटल तिर हानियो । मीनालाई अगि आउँदा उजाड लागेको यही बाटो अहिले सुन्दर लागे । झ्यालबाट भित्र पसेको हावाको स्पर्श उनलाई चुम्न आए झै लाग्यो ।
ट्याक्सी हस्पिटलको गेटमा आएर रोकियो । मीना ट्याक्सीबाट ओर्लेर दौडिदै आयूषको क्याविन तिर गइन । काविनको ढोका धकेलिन । ढोकाले मसिनो आवाजसँगै एक झोक्का हावा फाल्यो । ढोका खोल्दाको हावाको झोक्काले रुदै आयूषको टाउको सुम्सुम्याउँदै बसेकी श्रेयाले पछाडि फर्केर हेरिन मीनालाई त्यहाँ देखेर अचम्ममा पर्दै बोलिन मीना .. ! ! ??
मीना आयुष भएको ठाउँमा पुगिन, अचेत भएर ढलेको आयूषको निधारमा एउटा मधुर चुम्बन गरिन । आयूषको हात आफ्नो हातमा लिइन । आयूषका आँखाका परेलाहरु विस्तारै चलमलाउन थाले ।

शिल्पी साहित्य प्रतिष्ठान

गुरुवार, 22 जनवरी 2015

संबिधान

– सुजन बैरागी
संबिधान बनाउने भनि भत्ता खायौ
विभिन्न सरकारी सेवा सुबिधा पायौ
गर्दैछु भन्थ्यौ के ग¥यौ आखिरमा
नेपालीलाई संविधान विहिन बनायौ

नेपालीलाई बुङ्गो बनाई जान किन दिने ?
सरकारी सम्पत्ति त्यसै लान किन दिन ?
संविधान नबनाए तलब भत्ता फिर्ता गर्नुपर्छ
कामै नगर्नेलाई सितै खान किन दिने ?

नैतिकता सिकाउनेहरु नैतिकता तोड्दैछन्
संरक्षण गर्नु पर्ने कुहराहरु आफै फोड्दैछन्
यस्ताले बनाएको संविधान कस्तो होला ?
जो विस्तारै विस्तारै मानवीय गुण छोड्दैछन्

बन्द गरेर खै के मिलायौ ?
केबल जनतालाई दुःख दिलायौ
हिज आयौ के के न गर्छु भन्थ्यौ
आज एकाएक आफै बिलायौ

खेलाडीहरु देशको सम्मान जुटाउँदैछन्
नेताहरु सदन भित्रै फर्निेचर फुटाउँदैछन्
संविधान लेख भनि जनताले चुनेर पठाएकाहरु
कलम छाडि कोही हात कोही कुर्ची उठाउँदैछन्

गुरुवार, 15 जनवरी 2015

मुक्तक


एउटै घरमा बस्ने बीच नि चिनजान हुन्न शहरमा
धन सम्पत्ति भन्दा ठूलो इमान हुन्न शहरमा
चापलुसी र घुसखोरी जस्ले जान्यो उही महान
क्षमता र विज्ञताको सम्मान हुन्न शहरमा

सुजन बैरागी