रविवार, 27 जून 2010

गजल


सुजन बैरागी
दुनियाले देखे जस्तो छैन जिन्दगी
तिमीले गजल लेखे जस्तो छैन जिन्दगी

जीवन भित्र संघर्ष संघर्षमा बाधा
आख्यानमा समेटे जस्तो छैन जिन्दगी

बाधा सँगै ब्यथा अनि ब्यथा भित्र क्रन्दन
बगैचामा भेटे जस्तो छैन जिन्दगी

हाँसो खुसी दुःख पीडा सिसाले लेखेर
इलेजरले मेटे जस्तो छैन जिन्दगी

देख्ने सुन्ने दुनियाले प्रष्टै बुझ्न सक्ने
सारङ्गीमा रेटे जस्तो छैन जिन्दगी

शनिवार, 19 जून 2010

मुक्तक

आज मेहन्दी चुरा र सिंदुरले रङ्गेको दिन हो
बाध्यतामा मेरी उनी अन्मेको दिन हो
तर पनि म धेरै खुसि छु सोध त किन
किनकी आज म जन्मेको दिन हो

बुधवार, 2 जून 2010

मेरो साथमा मलामी

सुजन बैरागी
मेरो साथमा मलामी छन तिम्रो साथमा जन्ति आज
मेरो भागमा शंखध्वनी तिम्रो भागमा पञ्चेवाजा

आफ्नो आफ्नो भागमा जे छ त्यही न हो पाउने नी
सोधेरै त कहाँ आउदो रै छ र लिन आउने नी
तिमीलाई लिन आउँनेले खुसी लिई आयो आज
मलाई दियो शंखध्वनी तिमीलाई पञ्चेवाजा

लिइजानेहरु पनि फरक फरक हुँदा रैछन
कोहीले खुसी मनभरी कोहीले दुःख दिदाँ रैछन
मैले धर्ती छाडेकै दिन तिमीले घर जोड्यौ आज
मेरो भागमा शंखध्वनी तिम्रो भागमा पञ्चेवाजा